News

साउन २, चितवन ।
चितवनमा चैते धान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु एक सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु ९५ का दरले अनुदान रकम प्राप्त गरेको कृषि ज्ञानकेन्द्रकी निमित्त प्रमुख कमला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।
खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाऊँ भनी निवेदन दिएका थिए । उहाँका अनुसार ४ हजार २५ विगाह १५ कठ्ठामा चैतेधान खेती भएको निवेदन परेको थियो । निवेदनपश्चात् स्थलगत अनुगमन र प्रमाणीकरणपछि तीन हजार सात सय छ बिघा जमिनमा लगाइएको धान खेतीका लागि प्रोत्साहन रकम वितरण गरिएको हो ।
प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु ७५ लाख विनियोजन गरेको थियो । कार्यक्रमअनुसार प्रतिकट्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णयअनुसार अनुदान रकम दिइएको हो । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ ।रासस

साउन २, काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ की पत्नी सीता दाहालको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ ।

सीता दाहालको निधन भएको सातौं दिनमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व प्रधानमन्त्री , बिभिन्न दलका नेता, शुभेच्छुक लगाएत सहभागी भएका थिए । श्रद्धाञ्जली सभामा प्रचण्डले सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद प्रकट गर्नुभयो । उहाले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको र थप जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको उल्लेख गर्नुभयो । प्रचण्डले सीता दाहाल बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिकैन हामीले उपलब्ध र लाभदायी हुन सक्ने सबै खालको पद्धतिबाट उपचारको प्रयास पनि गरेको बताउनुभयो ।
प्रचण्डले अन्तिम अवस्थामा आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता रहेको भन्दै बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको बताउनुभयो । लामो समयदेखि अस्वस्थ सीता दाहालको असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

 

चितवन,असार ३० ।

हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन । “मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामासोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । उहाँको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ । सङ्घीय राजधानी काठमाडौँमा आज राति हल्का वर्षाको सम्भावना छ भने भोलि दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ । यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ ।रासस

 

Subcategories