News

साउन २२, नारायणगढ ।
बालकुमारी माध्यमिक विद्यालय नारायणगढको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोपाल भट्टराई सर्वसम्मतले चयन भएका छन् । नव गठित
विद्यालय व्यवस्थापन समितिका अध्यक्षतामा वडा नं। २ का वडा अध्यक्षा मनोज रानाभाटको संयोजकत्वमा वसेको बैठकबाट शिक्षा ऐन २०७५ को दफा १ २ उपदफा ४ अनुसार समाजसेवी चन्दादाता, शिक्षा प्रेमी मध्येवाट वजना महिला सहित २ जना मनोनित मध्ये विद्यालयका पूर्व विद्यार्थी गोपाल महराईको अध्यक्षतामा नयां विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । नव गठित समिति गठन गर्न विद्यालयका निवर्तमान विदालय व्यवस्थापन समितिका अध्यक्ष दीपक प्रधान सहजीकरण गरेको थिए । कार्यसमिति अल्मुनाई एसोनियान का अध्यक्ष श्री सेवन पन्त, शिक्षक अभिभावक सङ्घ कार्य समिति एवम् स्वर्ण अक्षयकोषका अध्यक्ष सनद पिया लगायतले नयां समितिलाई धन्यवाद दिएका थिए । नयां समितिमा नारायण परियार, शिव अधिकारी, धनशिला न्यौपाने, पार्वती घर्ति र सनुजा श्रेष्ठ मनोनित भएका छन् भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा मनोनित भएका छन् ।

१३ साउन, काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यस वर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव – बाघ सहअस्तित्व’ रहेको छ ।

आज नेपाल टेलिकमका टेलिफोन सेवामा बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।

नेपालले वि.सं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १ ०९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई सय ३५ पुगेको थियो ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ । सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए ।

नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।

उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ । हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ ।

वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९÷८० मा बाघको आक्रमणबाट १२, आव २०७८÷७९ मा २१, आव २०७७÷७८ मा १३, आव २०७६÷७७ मा ८ र आव २०७५÷०७६ मा बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको थियो ।

 

 साउन १२, काठमाडौं ।
देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् । केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । केन्द्रको गत वर्षको तथ्याङ्कानुसार नेपालमा वर्षीक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ । मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिनुभयो । ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ । अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन् । त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन् । केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पौडेलका अनुसार रगतसँगै रक्ततत्वको बढ्दो मागसँगै रक्तदाताको सङ्ख्या बढाउन, रगत परीक्षणमा नयाँ प्रविधिको प्रयोग गर्न, रक्त सेवा शुल्कको एकरुपता, रक्तसञ्चार केन्द्रको आर्थिक सवलीकरण र दीर्घकालीन सेवा प्रवाह चुनौतीको रूपमा रहेका छन् । यस्तै रगतको चिकित्साजन्य प्रयोग चुनौतीका रूपमा रहेको छ । नियमितरूपमा रक्तदाताको सङ्ख्या बढाउन साझेदार निकायले आह्वान गर्दै आएका छन् ।

Subcategories