News

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुनलाई गालेको छ । 

सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा टक्सार महाशाखाले सुन गालेको हो ।

यसअघि टक्सारले आइतबार ब्रेक सुबाट सुन छुट्याउने काम गरेको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने टक्सार महाशाखाले जनाएको छ । साउन तीन गते राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । सुन तस्करी प्रकरणको सिआइबीले अनुसन्धान गरिरहेको छ ।


चितवन, साउन २७ ।


नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर पारेर शनिबार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गर्नुभएको हो ।
‘विस्तारै देशले नयाँ गति लिँदै छ । देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’–उहाँले भन्नुभयो । उहाँले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको बताउनुभयो ।
‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ,’उहाँले भन्नुभयो ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास समेत राखे । कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले देशभित्र युवालाई रोक्न चुनौती रहेको भन्दै उपयुक्त रोजगारीका लागि सरकार लागिपरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’–उहाँले भन्नुभयो । कृषिको विकासका लागि मल कारखाना समेत खोल्ने तयारीमा रहेको दाहालले बताउनुभयो ।
नेपालले बंगलादेशसंग विद्युत व्यापारको सम्झौता गरेको उहाँले बताउनुभयो । भारतको भूमि हुँदै नेपालको विद्युत बंगलादेश पठाउने सहमति भएको उनले खुलासा गर्नुभयो । यसको घोषणा छिट्टै काठमाण्डौँमा गर्ने तयारी रहेको उहाँले बताउनुभयो । कर्णालीको चिसापानी र बुढीगण्डकी विद्युत अयोजना छिट्टै अगाडि बढाउने उहाँले बताउनुभयो । छिट्टै चीन सरकारसँग पनि विद्युत व्यापारको विषयमा छलफल गरिने उहाँले बताउनुभयो । ‘म छिट्टै चीन भ्रमणमा जाँदै छु । रसुवा नाकाबाट क्रस विद्युत मिटर लाईनको प्रस्ताव अगाडि बढाउँछु,’ उहाँले भन्नुभयो ‘यसले यता उत्पादन बढी हुँदा निर्यात गर्ने र कमी हुँदा आयात गर्न सहज हुनेछ ।’ चीन भ्रमण पशुपालनसँगै भौतिक पूर्वाधारको विकासमा बढी केन्द्रित हुने उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महागनरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा युवाहरुलाई जोड्दै अगाडि बढेको उल्लेख गर्नुभयो । प्रमुख दाहालले युवाले नै देशको हरेक क्षेत्रमा हुने क्रान्ति सफल पार्न सक्ने बताउनुभयो । महानगरपालिकाले युवासँग उद्यम कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दिवसको अवसरमा ५ किमी दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यक्रमका विभिन्न विधिका सफल ६ जना कृषकहरुलाई सम्मान पनि गरिएको थियो । भरतपुर महानगरपालिका युवा दिवसको अवसरमा सप्तहाव्यपी रुपमा कार्यक्रमहरु गरेको थियो ।

साउन २७,रत्ननगर । तस्विर कोमल चन्द्र भगत ।

चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइयो

कार्यक्रमका प्रमुख अतिति चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजा खुवाइएको छ । सौराहाको पर्यटन विकासमा हात्तीको महत्व दर्साउदै सफारी पर्यटनलाई जिवित राख्ने उद्देश्यले हात्ती दिबस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।

मानव र हात्तीको बीचमा उत्पन्न भएको असमझदारीलाई हल गर्दै हात्ती संरक्षणमा जनभावना अभिवृद्धि गर्न आवश्यक रहेको खतिवडाले बताए । कार्यक्रममा चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले नेपालमा हात्तीको अबस्था, महत्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएको थिए । आहार, खानपान र स्वास्थ्य उपचारको हिसाबले हात्ती पाल्न मुश्किल रहेको भन्दै निजी स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको उनले बताए ।

प्रमुख संरक्षण अधिकृत पुर्जापुनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको बताए । सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विबरण संकलन गरिरहेको भन्दै नेपालमा १५० वटा हात्ती निजी स्तरमा पालेका हात्तीहरु रहेको उनले जानकारी दिए । सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उनको भनाई छ । चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् ।

प्रमुख संरक्षण अधिकृत पुर्जापुनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षिय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहाको सहआयोजना तथा लायन्स क्लव अफ सौराहा वाइल्डलाइफ सिटि, लायन्स क्लव अफ चितवन कम्युनिटी हेल्पको सहयोगमा दिबस मनाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम चितवन वनकी सचिव रिता थापाले सञ्चालन गरेकी थिइन् । युनाइटेडका उपाध्यक्ष शम्भूप्रसाद मालीले धन्यवाद मन्तव्य राखेको सो कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, क्षेत्रीय होटल संघका ऋषि तिवारी, बाघमारा वनका सचिव कृष्ण भट्ट,रेवानका महासचिव सुर्यबहादुर रिमाल लगायत सौराहाका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Subcategories