News

चितवन, साउन २४ ।

 

भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा विभिन्न विषयका करिब १२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यशाला तथा गोष्ठी आयोजना हुने भएका छन् ।भरतपुर भ्रमण वर्ष–२०२४ अन्तरगर्तको बुधबार भरतपुर महानगरपालिकाको पर्यटन शाखामा बसेको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष २०२४ को अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पर्यापर्यटन, खेलकुद, साहसिक खेल, ¥र्याफटिङ, लगानी भरतपुर, भरतपुर विविधताको भूमि लगायतका विविध विषयमा सेमिनारहरुको आयोजना गरिने गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिए ।

समितिको पहिलो बैठकमा आ–आफ्नो मन्तब्य दिँदै समितिका सदस्यले सबैभन्दा पहिला भरतपुरमा पर्यटन केका लागि आउने भन्ने विषयमा निक्र्यौल गरी प्रचारप्रसार गरिनु पर्ने बताउँदै लक्षित वर्ग छनौट गर्नुपर्ने बताएका थिए । छलफल कार्यक्रममा समितिका सदस्य एवम् प्राध्यापक डा. कपिलदेव सुवेदी, प्राध्यापक सूर्यनारायण पौडेल, उद्यमी युगराज वस्ती, व्यवसायी निरञ्जन प्रधान, सदस्य कृष्णहरि सुवेदी, विशाल भट्टराई, प्राध्यापक सरोज सापकोटा लगायतले आ आफ्नो राय सुझाव दिएका थिए ।

सोही छलफल कार्यक्रममा पर्यटविद् डा. विश्वराज सुवेदीले भरतपुर महानगरले छिट्टैनै कार्यक्रमको वार्षिक क्यालेन्डर तयार गर्न लागेको बताउँदै समितिलाई कार्ययोजना तय गर्न अनुरोध गरे । एक वर्षसम्म विविध कार्यक्रम सहित आयोजना गर्न लागिएको भरतपुर भ्रमण वर्ष २०२४ को प्रचार प्रसार तथा यस क्षेत्रको पहिचान दिने खालका सेमिनारहरु चितवन, पोखरा, लुम्बिनी र छिमेकी मूलुकका प्रमुख शहरहरुमा समेत आयोजना गर्ने बारेमा छलफल भएको समितिका सदस्य–सचिव एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

चितवन, साउन २४ ।
कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरु मध्ये शक्तिखोर स्वास्थ्य चौकी नगरपालिकाकै उत्कृष्ट स्वास्थ्य चौकी बनेको छ ।
आर्थिक वर्ष २०७९ ÷०८० मा कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मापनगर्दा सबैभन्दा उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा शक्तिखोर स्वास्थ्य चौकी बन्न सफल भएको हो । कालिका नगरपालिकाको वडा नं. ७ मा मंगलबार गरिएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्था सम्मान र नगर प्रमुख विपन्न स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा शक्तिखोर स्वास्थ्य चौकीलाई सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रममा कालिका नगरपालिकाले नगर क्षेत्र भित्रका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई एक एक थान मोबाइल र सिम कार्ड निःशुल्क वितरण गरेको छ । नगर क्षेत्र भित्र रहेका स्वाथ्य स्वयंसेविकाहरुले आवश्यकताका आधारमा छिटो र सहज तरिकाले स्वास्थ्य शाखादेखि सेवाग्राही सँग सञ्चारगर्न सकोस् भनेर मोबाइल सेट सहित सिम कार्ड बितरण गरिएको कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।यस्तै ज्येष्ठ नागरिकको घर घरमा गएर उपचार गर्ने सेवालाई प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य संस्थाका प्रमुखहरुलाई वितरण गरिएको छ । नगरक्षेत्रभित्र रहेका प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखलाई उपचार गर्न आवश्यक सामग्री वितरण गरिएको हो । नगरपालिकाले गत वर्षदेखि नगर क्षेत्र भित्रका ज्येष्ठ नागरिकहरुको घर घरमै पुगेर स्वास्थ्य उपचार गर्दै आएको छ । यसलाई निरन्तरता दिन र दिइने सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री सम्बन्धित वडाका स्वास्थ्य शाखाका लागि बितरण गरिएको हो । कालिका नगररक्षेत्र भित्र ११ वटा स्वास्थ्य शाखाहरु छन् । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख बिमला तमाङ र नगरका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायको सहभागिता रहेको थियो

चितवन, साउन २४ ।

पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्सान मुद्दाका मुख्य आरोपी प्रदिप रुङ्गटा अस्पतालबाट डिस्चार्ज भएका छन् । भरतपुर अस्पतालमा सुरक्षा निगरानीमा उपचार गराइरहेका उनि चितवन जिल्ला अदालतमा बेहोस भएर ढलेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । रक्त चाप र मुटुको चाल सामान्य अवस्थामा आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । अस्पतालबाट डिस्चार्ज भएसंगै उनलाई चितवन जिल्ला कारागारमा चलान गरिएको छ । कारागारका सुरक्षा प्रमुख कुल बहादुर श्रेष्ठले रुङ्गटालाई अस्पतालबाट कारागार ल्याइएको बताउनुभयो । उहाँले रुङ्गटाको प्रेसर बढ्ने घट्ने भएकाले नियमित चेकजाँच भइरहेको जानकारी दिनुभयो । चितवन कारागारमा अहिले ७६९ जना कैदीबन्दी रहेका छन् । साउन १८ गते व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएसँगै रुङ्गटा बिरामी भएर अदालत परिसरमा नै ढलेका थिए । रुङ्गटा तीन महिनापछि मात्र फरार प्रतिवादीको रुपमा अदालतमा हाजिर भएका थिए । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुङ्गटालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो । चितवनका व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय बेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए । रावललाई प्रहरी वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो । उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए । उनको मृत्युसँगै कँडेलका समर्थकहरुले न्यायको लागि भन्दै चितवनका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्नुका साथै चितवन बन्द पनि गरेका थिए ।

 

Subcategories