News


२२ फागुन, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताउनुभएको छ ।
भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उहाँको भनाई छ । भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्,उहाँले भन्नुभयो,‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’ वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताउनुभयो । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो । २ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो । यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । एशियाली विकास बैंक÷जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गर्नुभयो । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताउनुभयो । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उहाँको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चितवन, फागुन १३ ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला गरेको छ । भरतपुर महानगरपालिका १३ मा रहेको बेल शहर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदी स्थित जर्नेली घाटमा आइतबार गैँडा मृत फेला परेको हो । मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । सो मृत भाले गैँडा अन्दाजी १२ वर्ष उमेरको रहेको जनाइएको छ। आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनको भनाइ छ।


१२, फागुन, चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको स्वास्थ्य तथा जनसंख्या विभाग राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ भरतपुर महानगर कमिटीको आयोजनामा चितवनको मेघौलीमा गरिएको वृहत स्वास्थ्य शिविरमा ४५० जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन् । भरतपुर २७ मेघौलीको जानकी उच्च मावि परिसरमा भएको शिविरमा जनरल फिजिसियनका २००, स्त्री तथा प्रसुति रोगका १५०, हाडजोर्नीका ७४ र दाँत रोग सम्वन्धी २६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । चितवनका बरिष्ठ फिजसियन डा। विजयप्रसाद पौडेल, डा. प्रतिक न्यौपाने, डा.सन्दीप पाण्डे, डा. दिप्ती शर्मा, डा। सुवास थापा, डा. सरस्वती अर्याल, डा. ऐलिग बास्कोटा लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेर औषधिसमेत वितरण गरिएको थियो । एमाले चितवनका स्वास्थ्य विभाग प्रमुख भक्ति गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज जेएन थपलिया प्रमुख अतिथि रहेका थिए । शिविरमा एमाले प्रदेश पूर्व सांसदहरु कृष्णप्रसाद भूर्तेल र विजय सुवेदी, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरी ढकाल, एमाले महानगर अध्यक्ष शंकर थपलिया, स्वास्थ्यकर्मी महासंघ भरतपुर नगर अध्यक्ष एकनाथ अर्याल, राष्ट्रिय स्वास्थ्यकर्मी संघका चितवन अध्यक्ष केशव सापकोटा, अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य प्रकाश भट्ट, एमालेका महानगरका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतका उपस्थिती रहेको कार्यक्रमको सञ्चालन एमाले स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य विज्ञान पौडेलले गरेका थिए । एमालेका महानगरका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको उपस्थिती थियो ।

Subcategories