News


बैशाख १७, रत्ननगर । । रत्ननगर नगरपालिका वडा नं ५ ले ज्येष्ठ नागरिक दिवाकालिन विश्रामकक्ष सञ्चालनमा ल्याएको छ । झुवानी सामुदायिक पुस्तकाल र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थासंगको सहकार्यमा बृद्धबृद्धाहरुको लागि विश्रामकक्ष सञ्चालनमा ल्याएको हो । रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा सो वडाका वडाध्यक्ष बालकृष्ण चापागाईँले पुस्तकालयको कोठामा एक औपचारिक कार्यक्रमका बीच विश्रामकक्षकोे उद्घाटन गरेका छन् । वडा कार्यालयले एसी सहित राखेर व्यवस्थित विश्रामकक्ष निर्माण गरेको छ । विश्रामकक्षमा बस्ने ज्येष्ठ नागरिकलाई चिया खाजा सहित महिनाको अन्तिम शुक्रबार स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको वडाध्यक्ष चापागाईँले बताए । विश्रामकक्ष तथा ज्येष्ठ नागरिकको रेखदेख वडा कार्यालय, पुस्तकाल र महिला बचतले सामुहिक रुपमा गर्ने व्यवस्था मिलाइएको छ । वडाध्यक्ष चापागाईँले खुल्ला ठाउँमा विश्राम स्थल बनाउदा धुवाँ धुलोका कारण बृद्धबृद्धाहरुमा रोगको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी पुस्तकालयको कोठामा एसी सहितको विश्रामकक्ष निर्माण गरिएको बताए । नगर स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक छविलाल घिमिरेले एक वडा एक विश्राम स्थल बनाउन स्थानीय सरकारलाई संस्थागत रुपमा आग्रह गरेको भन्दै त्यसको सुरुवात वडा नं ५ बाट सुुरु भएको बताए । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालले स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालयको रचनात्मक काममा पुस्तकालयले सहकार्य गरेको बताए । कार्यक्रममा वडा कार्यालयले वडा स्तरीय ज्येष्ठ नागरिक समितिलाई बाध्यवादनको सामग्री हस्तान्तरण गरेको छ । वडा स्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष विनोद प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकास अधिकृत दीपा घिमिरे, एमालेका वडा कमिटी अध्यक्ष विष्णु पौडेल, नगर स्वास्थ्य केन्द्र टरौलीका प्रमुख गोविन्द प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव दिनेश सुवेदीले सञ्चालन गरेका थिए । विश्रामकक्ष निर्माणको लागि वडा कार्यालयले एक लाख रुपैया लगानी गरेको छ । कार्यक्रममा झुवानी मध्यवर्ती मौलिक संस्कृति संरक्षण समितिले स्वागत स्वरुप भजन प्रस्तुत गरेका थिए ।

चितवन, वैशाख १५ .

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको हो । राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको उहाँको भनाइ छ । यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो । गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यसवर्ष राप्ती नदीको पूर्वबाट सुरु अण्डा सङ्कलन गरिने छ । गत वर्ष २४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको थियो । उहाँले भन्नुभयो “अहिले गुँड धेरै भेटिएकाले यस वर्ष धेरै गुँडको अण्डा निकालिने अनुमान गरेका छौँ ।” निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ । यहाँ हुर्किएका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।रासस

 

बैशाख १२, चितवन ।
चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवन अनुसार शुक्रबार दिउँसो साढे एक बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्ती चोकमा गितानगरबाट भरतपुर तर्फ अण्डा लिएर आइरहेको ना ५ च २६४४ नम्बरको बलेरोले सोही दिशा तर्फ आइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट स्कुटरमा सवार वाग्ले गम्भीर घाइते भएकी थिइन् । प्रहरीले उनलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । दुबै सवारी साधान र मकवानपुरको मनहरी गाउँपालिका ६का २५ वर्षिय बोलेरो चालक पेमा लामालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

Subcategories