News

बैशाख ६, चितवन । भरतपुर महानगरपालिका वडा नं–२५, छाता चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलको दुवै चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुद्धनगरबाट अमृत चोकतर्फ आउँदै गरेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मुख्य सडकमा निस्किने क्रममा बागमती प्रदेश ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ना ५१ प २०४० नम्बरको मोटरसाइकल चालक भरतपुर–२७ बस्ने ३९ वर्षीय टेकबहादुर पुलामीमगर र बागमती प्रदेश ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल चालक भरतपुर–२० बस्ने ३५ वर्षीय विशाल भट्टराईको मृत्यु भएको छ । पुलामीमगरको पुरानो मेडिकल कलेज भरतपुरमा र भट्टराईको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल पछाडि सवार २० वर्षीय सफल पौडेल, ना ५१ प २०४० नम्बरको मोटरसाइकलपछाडि सवार २७ वर्षीया केशरी पुलामीमगर र १७ वर्षीया सुजिता पुलामीमगर घाइते भएका हुन् । घाइतेमध्ये केशरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

बैशाख २, काठमाडौँ ।
ललितपुरमा ११ वर्षीया बालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको छ। गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित एक घरको पानी ट्यांकीमा बझाङकी ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो। उनको हत्या गरेको आरोपमा प्रहरीले मृतककै १५ वर्षीय कान्छो दाइ पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए। उनलाई प्रहरीले मंगलबजार एरियाबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

बझाङको सुर्मा गाउँपालिका वडा नं। ०४ घर भई हाल ललितपुरको १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी ११ वर्षीयकी दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको थिइन् ।

आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

ललितपुरको खपिन्छेस्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुई तल्लामा रहेको प्रयोग बिहिन सिमेन्टले बनाएको पानी ट्या‌ङ्कमा दुर्गा बोहराको शव फेला परेको थियो ।

बाबुराजा अवालेको उक्त घरमा बोहराको परिवार भाडामा बसेका थिए । उनीहरु फागुन २५ गते त्यो घर छोडेर अन्यत्र डेरा सरेका थिए । उनीहरुले छोडेर गएपछि कोठा खाली भएको थियो । कोठा खाली भएपछि चमेली सुनारको परिवार त्यहाँ कोठा खोज्न पुगेका थिए ।

खाली कोठामा उनीहरु बस्ने तयारी गरेको थियो । तर उनीहरुले कोठा सरेकै दिन अनौठो गन्ध आएपछि खानेपानीको ट्याङकी खोलेर हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि चैत ०२ गते अन्यत्र डेरा सरे पश्चात सो घरमा कोही नबसी घर खाली रहेको थियो ।

चैत ४ गते मृतक बालिका र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।
दाजु बहिनीसँगै गएको फुटेज भेटिए पछि दाजुमाथि शंका लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडाहरु लिन भनि दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनिलाई पिटि उक्त ठाउँमा रहेको नाईलनको डोरीले पछाडिबाट घाटी कसेर भुईमा लडाई छोडी भागेको बताएका थिए।

अनुसन्धानको क्रममा दाजु बहिनिले नै लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको एसपी जिसीले बताए ।

चैत ५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनिमाथि गरेको आक्रमण सम्झिएपछि घटनास्थलमा गई हेर्दा बहिनिको मृत्यु भएको र बहिनीको लाश भुई तल्लाको भर्याङको छेउमा देखे पश्चात सो लाश ट्याङ्किमा हालि सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडी गएको बयानमा बताएका थिए।

बैशाख २, चितवन ।

दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी भएको छैन ।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यस यता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको थापामगरले बताए । चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् । गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । मगरका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए । विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीति अनुरुप काम गरिएको थियो । सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गैडा गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।

Subcategories