News

जेठ २७, चितवन । रत्ननगर उद्योग वाणिज्य संघमा श्रव्यदृश्य तथा फोटोग्राफी तालिम सुरू भएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा संघले आयोजना गरेको उक्त कार्यक्रममा रत्ननगरका ३५ जना युवाहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले युवाहरुलाई सीप विकासमार्फत स्वरोजगार बनाउने र महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले चरणबद्धरुपमा तालिम सञ्चालन गरिएको बताए ।

संघले व्यावसायिक सुरक्षासँगै सामाजिक उत्तरदायित्व तथा सीप विकासका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले श्रव्यदृश्य तथा फोटोग्राफीमा युवाहरुको आकर्षण बढ्दै गएको बताए । रत्ननगर उवासंघका पूर्वअध्यक्षद्वय ज्ञानबहादुर विसुराल र केशवनारायण श्रेष्ठले सूचना प्रविधिको युगमा श्रव्यदृश्य तथा फोटोग्राफी तालिम फलदायी हुने विश्वास व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

६ दिनसम्म चल्ने उक्त तालिममा आभास टेलिभिजनका सञ्चालक कोमलचन्द्र भगत, फोटोग्राफर अंकित भगत र भिडियो ग्राफर सन्तोस सुनारले तालिम दिनेछन् ।

जेठ २२, चितवन । भरतपुर । आज बिहीबार विश्व वातावरण दिवस, चितवन जिल्लाभर वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना भएका छन् । चितवनका सातै पालिकाले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम आयोजना गरेका छन् । भरतपुर महानगरपालिकाको वातावरण तथा विपद् महाशाखाले वृक्षरोपण तथा सरसफाइ आयोजना गर्न गरेको छ । महानगरका विभिन्न वडाहरुले समेत सरसफाइ तथा वृक्षरोपण एवम् तालिमका आयोजनाहरु गरेका छन् । नेपाललगायत संसारभरि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । सन् १९७४ देखि विश्वमा वातावरण दिवस मनाउन थालिएको थियो । नेपालले भने सन् १९८० को दशकदेखि विश्व वातावरण दिवस मनाउन थालेको हो । मानवकै अज्ञानको कारणबाट नै वनविनाश, भूक्षय आदि हुने गरेको छ । गोन्द्राङ प्रहरी बिटदेखि जिल्ला प्रशासन कार्यालयसम्म भरतपुर महानगरले वृक्षरोपण तथा सरसफाइ गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार विश्व वातावरण दिवसमा बर्सेनि वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम हुँदै आएको छ । यसवर्ष पनि भरतपुर महानगर, वे गु्रप, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, टोल विकास संस्था, विद्यालय, आमा समूह, महिला समूह, वातावरण संरक्षणकर्मी लगायत सम्पूर्णको उपस्थितिमा भरतपुर–१२ को गोन्द्राङ प्रहरी बिटदेखि जिल्ला प्रशासन कार्यालयसम्म बृहत् सरसफाइ तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । वातावरण दिवसकै अवसर पारेर रत्ननगर नगरपालिका, माडी नगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका वडाहरुले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम भएका छन् । भरतपुर महानगरपालिकाले विश्व वातावरण दिवसकै अवसर पारेर आफ्ना कार्यालयहरुमा सरसफाइ र वृक्षरोपण गर्न, विद्यालय, क्याम्पस तथा शैक्षिक परिसरमा सरसफाइ र वृक्षरोपण गर्न निर्देशन गरेको छ ।
नेपालले पनि वातावरण दिवस धेरै पहिलेदेखि मनाउने कार्य गर्दै आएको छ । दिवसका कार्यक्रमले जनतामा चेतनामूलक सन्देश फैलाउने गरेको पाइन्छ । दिवसलाई वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमहरु तय गरी मनाउने परिपाटी रहेको छ । यी कारणहरुले गर्दा वायु प्रदूषणमा कमी आई वातावरणमा भने सुधार आएको कुरा सम्बन्धित क्षेत्रका विज्ञहरुले औँल्याएका छन् । नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।

जेठ २२, चितवन । तस्विर : कोमल चन्द्र भगत । चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैंडालाई बुधबार साँझ ललितपुर पठाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैंडालाई चिडियाखाना पठाइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयानुसार अर्को पोथी गैंडा पनि लैजाने तयारी गरिएको छ । सुचना अधिकारी मगरले बताए । करिब ३० महिनाको पोथी गैंडा (पुजा)लाई पनि लैजाने तयारी गरीएको भगरको भनाइ छ ।”
बुधबार नै पठाउने तयारी गरिएको भए पनि पुजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए । सदर चिडियाखानामा गैंडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैंडाका बच्चा लगिएको हो । हुर्काइएका गैंडा लैजाँदा मानविय क्षति कम हुने भएकाले यस्ता गैंडा लगिने गरेको छ ।

Subcategories