News


साउन ३१, काठमाडौं – डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोहि छैन’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा केहि थोरै फिल्मका दृश्यहरु पनि देखाइएको छ । निर्माण टिमले यस लिरिकल गीतमार्फत फिल्म कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउने प्रयास गरेको छ । चर्चित तथा स्थापित गायक शिशिर योगीको आवाज तथा म्युजिक, कवि अर्जुन पराजुलीको शव्द, विवी अनुरागीको एरेन्जमा यो गीत तयार भएको हो । विभिन्न फिल्म फेस्टिवल तथा विशेष शो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । यस फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । डकुमेन्ट्री पार्टमा भने देशभरका विभिन्न घटना र दृश्य देखाइएको छ ।
रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ’रित्तो गाउँ’ ले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गर्छ । यसअघि आधा दर्जन बढी सर्ट फिल्म केही म्युजिक भिडिओ निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा।डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर यस डकुमेन्ट्री सर्ट फिल्म तयार पारेका हुन् । आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन् । निरज कंडेलको छायांकन, नहकुल खड्काको सम्पादनमा तयार फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइन भरत कंडेलको रहेको छ । केहि समय अघि काठमाडौंमा भएको विशेष प्रदर्शनमा सहभागी दर्शक तथा अतिथीले यस फिल्मलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

 

चितवन, साउन ३० –
नेकपा (एमाले) चितवनले केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरुलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । आज बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रले चितवन जिल्लामा विभिन्न जिम्मेवारी तोकेर पठाएका केन्द्रीय कमिटीका नेताहरुलाई बधाई तथा स्वागत गरिएको हो । सो कार्यक्रममा बोल्दै पार्टी संगठन विभाग प्रमुख कांशिनाथ अधिकारीले एमाले पार्टी निर्माणको नयाँ चरणमा रहेको बताएका छन् । पार्टी रि इन्जिनियरिङ् र रि शुद्धिकरणको अभियानमा रहेको उनले बताए । उनले अब कामको मूल्याङ्कनका आधारमा नेताहरुले जिम्मेवारी पाउने बताएका छन् । अब कसैलाई टिकट दिनुपूर्व, नयाँ नियुक्ति गर्नुपूर्व उसको परीक्षा लिइने उनको भनाइ छ । सैद्दान्तिक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नयाँ जिम्मेवारी सुम्पने उनको भनाइ छ । मैदानमा पठाएर नेता कार्यकर्ताको परीक्षण गर्ने प्रणाली पार्टीले विकास गरेको उनले बताए । पार्टी सदस्यता विस्तारमा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्न आग्रह गरे । यसैगरी पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले संविधान कार्यान्वयनका लागि काँग्रेससँग एमाले मिलेको स्पष्टिकरण दिँदै उनले आगामि चुनावमा भने काँग्रेस नै एमालेको प्रतिस्पर्धि हुने बताएका छन् । ०७९ मा अपेक्षित परिणाम प्राप्न हुन नसकेको बताउँदै उनले ०८४ मा पार्टी एक ढिक्का भएर लाग्न सकेमा पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको भनाइ छ । ०८४ मा पनि सफलता प्राप्त गर्न सकिएन भने त्यो हाम्रै आन्तरिक कारणले गर्दा प्राप्त गर्न नसिकएको हुने उनको भनाइ छ ।  कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, पोलिट ब्युरो सदस्य एवम् निवर्तमान चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै, पार्टीलाई हरेक टोलटोलमा मजबुत बनाउँदै लगेर आगामि चुनावमा पार्टी प्रथम हुने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्वागत कार्यक्रममा बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी स्थायी कमिटी सदस्य राजन भट्टराई, चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी पोलिटब्युरो सदस्य देवि ज्ञवाली, नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य जेएन थपलिया, चितवन संघीय निर्वाचन क्षेत्र ३ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य यमबहादुर परियार, केन्द्रीय सदस्यमा नियुक्त भई चितवन संघीय निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय भूमि व्यवस्था विभाग सचिवको जिम्मेवारी प्राप्त गरेका विजय सुवेदीलाई बधाई तथा स्वागत गरिएको हो । यसैगरी सोही अवसरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाललाई पनि बधाई तथा स्वागत गरिएको छ । यसैगरी प्रदेश कमिटीमा मनोनित भएका चितवनका नेताहरु र राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशनबाट विभिन्न जिम्मेवारी पाएका चितवन भूगोलका नेताहरुलाई समेत बधाई तथा स्वागत गरिएको छ । नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रम सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चितवन भूगोलका केन्द्र्रीय, प्रदेश र जिल्ला स्तरका नेतासहित जनवर्गीय संगठनका नेता कार्यकर्ताको उल्लासमय उपस्थिति रहेको थियो । 

 
 


३० साउन, गैंडाकोट ।
आफूभन्दा माथि सेवा भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित रोटरी क्लब अफ गैडाकोटबाट साउन २९ गतेका दिन गैडाकोट नगरपालिका वडा नं १ मा अवस्थित नवदुर्गा आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुकालागि शैक्षिक सामग्री बितरण गरिएको छ । रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष अधिबक्ता रमेश काफ्लेको अध्यक्षतामा तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर सापकोटा तथा रोटरीका पदाधिकारीहरु र बिद्यालयका शिक्षक अभिभावक र बिद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । आर्थिक रुपमा बिपन्न दलित तथा जनजाती समुदायका अधिक बिद्यार्थी रहेको उक्त बिद्यालयका ७५ जना बिद्यार्थीहरुलाइ उक्त अवसरमा शैक्षिक सामग्रीहरु हस्तान्त्रण गरिएको थियो भने शैक्षिक सामग्री हस्तान्त्रणमा एसिष्टेन्ट गर्भनर अशोक कुमार बस्नेतको मुख्य योगदान रहेको थियो । रोटरी क्लब अफ गैडाकोटको शैक्षिक उन्नयन कार्यक्रम अन्तर्गत सो अवसरमा गैडाकोट इगलिश स्कुलका प्रिन्सिपल हिरालाल अर्याल तथा श्रीहरि चालिसे श्रीयम सप्लायर्सका सञ्चालक श्रीनिबाश पौडेल तथा क्लब अध्यक्ष रमेश काफ्लेबाट एकएक जनाका दरमा चार जना बिद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गरी एक शैक्षिक सत्रकालागि आबश्यक शैक्षिक सामग्रीहरु हस्तान्त्रण गरिएको थियो । बिद्यालयका प्रधानाध्यापकले स्वागत भाषण गर्नुको साथै ब्यवस्थापन समिति अध्यक्ष ठाकुर सापकोटाले बिद्यालयको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
सोही अवसरमा बिद्यालय परिसरमा रोटरियनहरुबाट बिभिन्न फलफूलहरुको १०० बिरुवा रोपी बृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ ।
रोटरी रोटरी क्लब अफ गैडाकोटले २०१७ मा स्थापना भइ हालसम्मका कार्यक्रमहरुको समिक्षा तथा आगामी कार्यक्रमहरुको योजना निर्माणकालागि भुजेल गाउँ जगन्नाथ गाउँ लगायतका स्थानमा गइ समुदायसंग भेटघाट छलफल अन्तरक्रिया र खानेपानी शौचालय निर्माण जस्ता सम्पन्न परियोजनाहरुको स्थलगत अनुगमन समेत गरिएको थियो ।

 

Subcategories