News

साउन २९, भरतपुर ।

चितवनको भरतपुरमा मिनी भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार भरतपुर महानगरपालिका ९ शिवालय मन्दिर नजिक ना ५ च १०५३ नम्बरको मिनी भ्यानले ना ५६ प ४११५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कूटर पछाडि सवार भरतपुर महानगरपालिका ८ गौरिगन्ज बस्ने ६१ बर्षिय बिष्णुकला गौतमको मृत्यु भएको हो । भ्यानको ठक्करबाट घाइते गौतमको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर महानगर ८ गौरिगन्ज बस्ने २७ बर्षिय भगवती कँडेल सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


२९, साउन, चितवन । तस्विर कोमल चन्द्र भगत / प्रेस चौतारी चितवन
प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडे्लले कलेजको १६ औं बार्षिकोत्सवका अवसरमा भवन निर्माणमा स्थलमा नै आएर चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं कलेजका प्रिन्सिपल पौडेलले चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताए । चौतारीको भवनका लागि आफूले २ बर्ष अगाडि चौतारी साँझ कार्यक्रममा पनि सहयोग गरेको स्मरण गर्दैै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । सो अवसरमा पौडेलले भवनको अवलोकन पनि गरेका थिए ।


प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा चौतारी चितवनको तर्फबाट धन्यवाद दिए । सेन्ट्रल कलेजले जिल्लामा खेलकुद, सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण साथ र सहयोग दिँदै आएको भन्दैं अध्यक्ष पण्डितले सबैको साथ र सहयोगबाट चौतारीको ३ तले भवन तयार हुँदै गरेको बताए । चौतारीको भवन निर्माणमा होस्टेमा हैंसे गरेर साथ र संगठन प्रति सेन्ट्रल कलेजले दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवन तीन तलाको बन्दैछ । भवनको सबै ढलानको काम सकेर अहिले प्लाष्ट्रर गर्ने क्रम अन्तिम चरणमा छ ।

भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले २०७९ वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष, पहिलो तलामा हल र तेस्रो तलामा आवासिय सुविधासहितका कोठाहरु रहने अध्यक्ष पण्डितले जानकारी दिए ।

२८ साउन, रत्ननगर ।  पूर्वी चितवनकाे रत्ननगरमा साेमबार राज्यले अबलम्बन गरेकाे नयाँ कर नीतिकाे बारेमा प्रशिक्षणात्मक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ । आन्तरिक राजश्व कार्यालयकाे सहयाेगमा रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे कार्यक्रममा २०० बढी व्यवसायीकाे सहभागिता रहेकाे थियाे । साे अबसरमा संघका अध्यक्ष शंकर गिरीले राज्यकाे दाेहाेराे कर नीतिका कारण व्यवसायी मारमा परेकाे बताए । व्यवसायी कर तिर्न प्रतिबद्ध रहदा रहदै राज्यले कर माथि कर थपेर व्यवसाय धरापमा पार्न खाेजेकाे आराेप लगाए । कार्यक्रममा  आर्थिक विधेक २०८१ ले संसोधन र आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) को बिषयमा छलफल गरिएकाे अध्यक्ष गिरीले बताए । रत्ननगर उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गंगाराम अर्यालले प्रशिक्षण दिएका थिए । कर सम्बन्धी नयाँ व्यबस्थाको बारेमा व्यवसायी अन्यौलमा परेकोले त्यो अन्यौललाई चिर्नको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनका प्रमुख कर अधिकृत निरन भट्टराई, वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल, वरिष्ठ उपाध्यक्ष निराजन खनाल, रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु राजाराम रेग्मी, हरिशरण पाठक,  केशवनारायण श्रेष्ठ, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत संघका अध्यक्ष, उद्योगी, व्यबसायीको सहभागिता रहेको थियो । संघका अध्यक्ष गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा कर राजश्व समितिका संयोजक नवराज तिमिल्सिनाले धन्यवाद मन्तव्य राखेका थिए ।

Subcategories