News

चितवन, १९ साउन । तस्विर कोमल चन्द्र भगत ।

 

आमाहरुले शिशुलाई स्तनपान नगराउँदा आमा नै रोगको जोखिममा रहने चिकित्सकहरुले बताएका छन् । समयमै सहि तरिकाले स्तनपान नगराउंदा शिशु समेत रोगी बन्न सक्ने चिकित्सकहरुले बताउनु भएको हो । चिकित्सकहरुले नियमित स्तनपान नगर्ने शिशुलाई श्वासप्रश्वास, निमोनिया, झाडापखाला जस्ता रोगहरु लाग्ने सम्भावना बढी हुने बताउनु भएको छ । उहाँहरुले स्तनपान नगर्ने शिशुको रोग प्रतिरोधी क्षमता कमजोर हुने बताउनु भएको छ । कान्तिपुर हेल्थ अनलाईनले विश्व स्तनपान सप्ताहको अवसरमा आज (शनिबार) दियालो फुडल्याण्ड, क्षेत्रपुरमा आयोजना गरेको “स्तनपानको महत्वः चिकित्सक–पत्रकार अन्तरक्रिया” कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. सुनिलमणि पोखरेलले आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुने बताउनुभयो ।

आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने बिभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूलाई रोग लाग्न बाट रक्षा गर्ने डा. पोखरेलले बताउनुभयो । स्तनपान गराउँदा आमाहरुमा अक्सिडेसन हर्मोन बृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने उहाँको भनाई थियो । डा. पोखरेलका अनुसार आमाको पहिलो बिगहुँते दूधमा अक्सिडेसन हर्मोन बढी हुन्छ, स्तनपान गराउँदा पाठेघर खुम्चिन्छ, जसले रक्तश्राव हुनबाट जोगाउँछ ।रक्तश्राव हुनबाट जोगिएको अवस्थामा डिम्बासयको क्यान्सर हुने जोखिम कम डा. पोखरेलको भनाइ छ । अक्सिडेसन हर्मोनमा शिशुलाई आवश्यक पर्ने तत्व पनि बढी हुने उहाँको भनाई छ । नियमित स्तनपान नगराउने आमाको स्तनमा बोसो जम्मा भएर क्यान्सर समेत गराउन सक्नेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो “जन्मेको ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउनु पर्छ, कम्तीमा दुई वर्षसम्म पुरक खाना सहित स्तनपान गराउनु पर्दछ ।” सम्भव हुन्छ भने दुई वर्षपछि पनि स्तनपान गराउन सकिने उहाँको भनाई थियो । प्रा.डा. पोख्रेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुबैलाई फाईदा हुने बताउनुभयो । नवजात शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने भन्दै उहाँले भन्नुभयो “शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुन्छ ।” सो कार्यक्रममा भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ डा। श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाईल चलाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “आमाले मोबाईल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएन, नाक बुझ्झिएको छ छैन लगायत केही कुरा पनि जानकारी हुँदैन ।” उहाँले बच्चाको माया ममता पनि कम हुने भन्दै भन्नुभयो “स्तनपान गराउने समयमा शिशुलाई सुम्सुमाउनु पर्छ, अन्यत्र ध्यान दिनु हुँदैन ।” स्तनपान गराउँदा शिशुलाई सुमसुमाउने, मसाज गर्ने लगायतका कामहरु गर्दा बच्चाले राम्रोसँग स्तनपान गर्ने र उसका सबै अङ्गहरु स्वस्थ रहने उहाँले बताउनुभयो । स्तनपान गराउँदा आमा र शिशु दुवैको आशनमा बिशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा. गुप्ताले बताउनुभयो । बच्चालाई जन्मिएदेखि ६ महिनासम्म आमाको दूध बाहेक पानीको समेत आवश्यकता नपर्ने उहाँको भनाई थियो । मौलाकालिका अस्पतालमा समेत सेवा दिंदै आउनु भएका डा. गुप्ताले बच्चाको शरीरिक विकासका लागि समेत सकेसम्म आमाको दूध खुवाउनु पर्ने बताउनुभयो । उहाँले आमा काममा जानु परेमा दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखेमा २४ घण्टासम्म खुवाउन सकिन्छ ।” फ्रिजमा राखेको दूध सिधैं नतताउन सुझाव दिंदै उहाँले भन्नुभयो “तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनु पर्छ, सिधैं तताउनु हुँदैन ।” कार्यक्रममा कान्तिपुर हेल्थका प्रधान सम्पादक तिलक रिमालले स्तनपानको महत्वलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउँदै कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण सिर्जना गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कान्तिपुर हेल्थले स्वास्थ्यसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको भन्दै उहाँले यसैको निरन्तरता स्वरुप यो अन्तक्र्रिया राखिएको जानकारी दिनुभयो ।

 

 

 

 

१८ साउन, चितवन। सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।

 

काठमाडौँ, साउन १८ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ  तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।



Subcategories