भारतिय पर्यटक बोकेको बस दुर्घटनाका मृतकको शव लिन भारतीय बिमान चितवनमा
चितवन,भदौ ८ । कोमल चन्द्र भगत ।
तनहुँको आंबुखैरेनी स्थित ऐना पहरामा मा भएको भारतिय पर्यटक बोकेको बस दुर्घटनाका मृतकको शव लिन भारतीय सेनाकाे बिमान चितवन आएको छ । शनिवार अपरान्ह ४ः १५ बजे बिमान भरतपुर विमानस्थलमा अवतरण गरेको हो । मृतक २७ जनाकै शव भारत लैजान सेनाकाे जहाज आएकाे हाे। यस अघि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले ३ बजे तिर नै भारतीय विमान आउने जानकारी दिनुभएको थियो ।
यस्तै तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छिन् । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।