News

साउन १८, चितवन । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।

 

साउन १८, चितवन । तस्विर कोमल चन्द्र भगत ।  चितवनको सौराहामा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएको ६९ औं छावाको नाम रामप्रित गज राखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नामाकरण गरिएको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले यादवले संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप छावाको नामाकरण गरिएको बताउनु भयो ।

 

यस छावालाई तमोरकलीले साउन ७ गते जन्माएको थियो। तमोरकलीको रामप्रित गज तेस्रो सन्तान हो। प्रजनन् केन्द्रको रेकर्डमा रामप्रित गजको बाबु जंगली हात्ती रोनाल्डो रहेको उल्लेख छ। प्रजनन् केन्द्रमा आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै ५ वटा छावा जन्मिएका थिए। रामप्रित गज यो आर्थिक वर्षमा जन्मिएको पहिलो छावा हो।

प्रजनन् केन्द्रमा अहिले माउ र छावा गरेर २२ वटा हात्तीहरु रहेको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिनुभयो । ती मध्ये ६ वटाले तालिम पाइसकेका छन्। ७ वटालाई तालिम दिन बाँकी छ। छावा ३ वर्षको भएपछि तालिम दिने गरिन्छ । प्रजनन् केन्द्र सहित निकुञ्जका विभिन्न पोष्टहरुमा गरेर ५८ वटा हात्ती रहेको चौधरीले बताउनु भयो ।

साउन १८, चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ स्थित केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ। पूर्वी खड्कौलीका ५० वर्षीय भीमबहादुर दराईको शव राप्तीनदीमा भेटिएको हो। उनी साउन १७ गते साँझ करिब ६ बजे गोरखबहादुर दराईसँगै माछा मार्न गएका थिए । सँगै माछामार्पन गएको साथीले उनलाई नदेखेपछि गाउँघरमा आएर हराएका बारे जानकारी गराएका थिए । राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय गीतानगरमा खबर गरेपछि प्रहरी नायब निरीक्षक कृष्णराज गौतमको कमान्डमा खोजी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीसँगै स्थानीयवासीले पनि खोजी कार्यमा सहयोग गरेका थिए। दराईको शव केरुङ्गा खोला र राप्ती नदीको दोभानबाट झन्डै डेढ किलोमिटर पश्चिमतर्फ फेला परेको हो। शवको एउटा हात पाखुरादेखि नै नभएको अवस्थामा भेटिएको छ भने खुट्टामा ठुलो घाउ देखिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अध्ययन अनुसार माछा मार्न गएका बेला दराईमाथि गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।
उनको खोजी कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सैनिक, सशस्त्र प्रहरीको टोली खटिएको थियो।

Subcategories