News

भदौ ११, चितवन ।

गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उहाँका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उहाँले बताउनुभयो । एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ । गैँडा गणना गर्न एक महिना लाग्दछ । गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले रु १८ लाख रकम विनियोजन गरेको छ यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । कँडेलले गैँडा गणनाका लागि रु १८ लाख नै विनियोजन गरेको बताउनुभयो । गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा ९शरीरमा भएका धर्का० फरक–फरक हुने गर्दछन् । गैँडा गणना हात्ती माथि चढेर प्रत्यक्ष हेरेर ९रियल टाइममा० गरिन्छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए । सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिव १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो । नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैँडा फेला परेको तथ्याङ्क छ । रासस

 


भदौ ११, चितवन । तस्विर कोमल चन्द्र भगत । पूर्वी चितवनको रत्ननगर वडा नं ५ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा पर्यटन विकासको लागि जीप सफारी सञ्चालनमा आएको छ । बुधबार वनको कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले जीप सफारीको उद्घाटन गरेका हुन् । जीप सफारी सुरु भएकै दिन बागमती प्रदेशका कृषिमन्त्री मधुसुधन पौडेलले जीप सफारी मार्फत सो सामुदायिक वनको अबलोकन गरेका छन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व वनमन्त्री कृष्णप्रसाद सिलवाल, रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक, निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा।गणेश पन्त सहित राजनीतिक दलका नेतृत्वहरुको उपस्थिति रहेको थियो । सो अबसरमा वनका अध्यक्ष जोगेन्द्र महतोले सौराहाको काँखैमा रहेको वनमा स्थापनाको २२ बर्षपछि जीप सफारी सुरु गरेको भन्दै पर्यापर्यटन मार्फत स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्य रहेको बताए । सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई जीप सफारी मार्फत वन्यजन्तुको अबलोकन गराउने उद्देश्यले व्यापक तयारी गरी सफारी सुरु गरिएको बताउदै उनले जीप सफारी मार्फत पर्यटकले एकसिंगे गैँडा, बाघ, जंगली हात्ती, भालु, चितुवा, चित्तल, जरायो जस्ता दुर्लभ वन्यजन्तु अबलोकन गर्न सक्ने बताए ।

१०६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन २०६० सालमा स्थापना भएको हो । करिब २ हजार उपभोक्ता रहेको सो सामुदायिक वनमा पर्यापर्यटनको विकासकै लागि २०६६ सालमा डुंगा सञ्चालन गरिएको सचिव नारायण चौधरीले जानकारी दिए । जीप सफारीको लागि सो वनले व्यवस्थित रुट तयार गरेको छ । साढे चार किलोमिटरको दुरीमा डेढ घण्टा देखि दुई घण्टा सम्म पर्यटकलाई सफारी गराइने छ । सुरुवाती चरण विहान ७ वटा र बेलुका ७ वटा गरी दैनिक १४ वटा जीप सञ्चालन गरिने सचिव चौधरीले जानकारी दिए । उद्घाटन समारोहका प्रमुख अतिथि पूर्वअर्थमन्त्री थपलियाले मध्यवर्ती सुरक्षा र सन्तुलन रहेको भन्दै जीप सफारीलाई अबसरको रुपमा लिएर उचित व्यवस्थापनका साथ सञ्चालन गर्नुपर्ने बताए । उनले सौराहालाई बाढीको जोखिमबाट जोगाउन लोथर देखि सौराहासम्म मजबुत ड्याक निर्माणको थालनी भएको बताए । ३५ बर्ष अघि निर्माण भएको ड्याक जीर्ण भइसकेको भन्दै उनले पुन निर्माणको लागि आफु मन्त्री हुँदा १८ करोड रुपैया विनियोजन गरेर काम सुरु भएको बताए ।

कार्यक्रममा वडाध्यक्ष सजना महतो, बालकृष्ण चापागाईँ, नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष मेघनाथ पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष रामनाथ भट्टराई, एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य अर्जुन ढकाल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्षहरु बासु ढुंगाना, बासु चापागाई लगायतले मन्तव्य राखेका थिए । वनका अध्यक्ष महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा उपाध्यक्ष रुदल महतोले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सचिव चौधरीले सञ्चालन गरेका थिए ।


भदौ ०८, चितवन ।  तस्विर : कोमल  चन्द्र भगत ।  लेखक वसन्त पराजुलीको नयाँ औपन्यासिक कृति ‘बखान’को गृह विमोचन गरिएको छ। शनिबार नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शारदानगरमा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको उपस्थितिमा बखानको गृह विमोचन गरिएको हो।
उपन्यास बखानको केन्द्रमा नेपालकै पहिलो सहकारी संस्थापक एवं चितवनका राजनैतिक तथा सामाजिक व्यक्तित्व बखानसिंह गुरुङ रहेका छन्। सोही कारण चितवनमा सहकारी संस्थाले नै विमोचन गर्ने जिम्मा लिइएको हो। लेखक पराजुलीले यस कृतिमा चितवनको बस्ती विकास, स्थानीय धर्म–संस्कृति, सामाजिक रूपान्तरण र ऐतिहासिक घटनाक्रमलाई जीवन्त रूपमा चित्रण गरेका छन्।


विशेषगरी वि।सं। २००७ देखि २०४० सम्मका राजनीतिक आन्दोलन र त्यसमा बखानसिंह गुरुङले पु¥याएको योगदानलाई उपन्यासमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बखान उपन्यासले सहकारी आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङका नाति चन्द्रध्वज गुरुङले नेपालको इतिहासलाई औपन्यासिक रुप दिएरै भए पनि सङ्ग्रहित गर्ने काम भएको भन्दै लेखकप्रति कृतज्ञता व्यक्त गरे। नेपाली समाज र राजनीतिमा परिवर्तनको संवाहकको रुपमा स्थापित व्यक्तिलाई राज्यले समेत वास्ता नगरेको परिवेशमा एक जना लेखकले संरक्षण गर्ने प्रयास गरिएको उनको भनाइ छ। बाजेको राजनीतिक यात्रा र परिवारले भोगेका पीडादायी क्षणहरूको पनि उनले स्मरण गरे।
सहकारी संस्थाका सल्लाहकार एवम् नेपाली काँग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरुङले सहकारी आन्दोलन, चितवनको बस्ती विकास र सामाजिक योगदानमा देशले सम्झिनुपर्ने व्यक्तिको जीवनीमा आधारित रहेर उपन्यास लेखिँदा एउटा दस्तावेजको रुपमा यसलाई स्वीकार्न सकिने प्रतिकृया दिए।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले उपन्यासले ओझेलमा परेका एक महत्त्वपूर्ण व्यक्तित्वको योगदानलाई उजागर गरेको भन्दै लेखकको प्रशंसा गरे। २०३९ सालमा कानुन, न्याय तथा भूमिसुधार मन्त्री बनेका बखानसिंह गुरुङले प्रजातन्त्रिक आन्दोलनका क्रममा दुई छोरा गुमाएका थिए। राजनीतिक संघर्षकै क्रममा घरसमेत गुमाउनु परेको इतिहासलाई लेखकले पुस्तकमार्फत मार्मिक ढंगले प्रस्तुत गर्ने जमर्को गरेका छन्।
लेखक पराजुलीका अनुसार बखान वास्तविक घटनामा आधारित भए पनि कलात्मक स्पर्श दिइएको उपन्यास हो, जसले इतिहास, राजनीति, संस्कृति र विकासलाई जोड्दै चितवनको महत्त्वपूर्ण कालखण्डलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको छ। यसअघि पराजुलीका कुमाता, मोम्चो र ड्रिमी आइज नामक कृतिहरू प्रकाशित भइसकेका छन्।
कृतिका हिसाबले चौथो कृति भए पनि औपन्यासिक हिसाबले भने पहिलो कृतिको रुपमा बखान प्रकाशन गरेका पराजुली नेपाल पत्रकार महासंघ चितवनका वर्तमान अध्यक्ष हुन्। उनी चितवनबाटै करिब दुई दशकयता पत्रकारितामा सक्रिय छन्। शिखा बुक्सले प्रकाशन गरेको बखान यसअघि शनिबार काठमाडौँमा भव्य कार्यक्रमका बीच विमोचन भएको थियो।

Subcategories