News

साउन ३१, चितवन,

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं लगिदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर लान लागिएको हो । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लान लागिएको जनाइएको छ ।

साउन ३१, चितवन,

भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ । वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना निर्माण गरिएको भूमिगत जल सिँचाइ आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले बताउनुभयो । उहाँका अनसुसार हस्तान्तरण भएका आयोजना नर्मदेश्वर र मनकामना (भरतपुर–१५०, रुखेनी (भरतपुर–१८), सङ्गम, सम्झौता र जुनतारा (भरतपुर–२१), पटिहानी पर्सा (भरतपुर–२२), ठाडोखोला, केरुङ, साँङ्गे र फाल्गुनी (भरतपुर–२३), भगौली (भरतपुर–२५) र झ्याउरेटाँडी (भरतपुर–२७) रहेका छन् । आयोजनामा करिब रु सात करोड ३२ लाख ७९ हजार ४४५ खर्च भएको छ । साथै कुल १९ हजार पाँच सय ३१ मिटर पाइपलाइन जडान गरिएको छ । यसले भरतपुरका खडेरीग्रस्त क्षेत्रमा डिप बोरिङमार्फत पानी आपूर्ति भई उत्पादनशील जमिन विस्तार गरेको छ ।

उपभोक्ता किसानले परियोजनाबाट खडेरी समयमा बाली लगाउन सहज भएको अनुभव बताएका छन् । पटिहानी पर्साका सेवाग्राही यमप्रसाद लामिछानेले आयोजना निर्माणले सिँचाइ समस्या समाधान भएको बताउनुभयो । त्यस्तै, भरतपुर–१५ नर्मदेश्वर आयोजनाका मनिभद्र कँडेलले खडेरी जमिनमा पानी पुगेपछि किसान खुसी भएको उल्लेख गर्नुभयो । फाल्गुनी र केरुङ्गा आयोजनाका सेवाग्राही अनिता वाइवा र कमलाकुमारी विश्वकर्माले भूमिगत जलस्रोतमार्फत अब खेतबारीमा सिँचाइको सुविधाले सहज भएको बताउनुभयो । त्यस अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरका पश्चिमी क्षेत्रमा सिँचाइ अभावले जनिम बाँझो हुने समस्या समाधान भएको बताउनुभयो । उहाँले नारायणी लिफ्ट, खगेरी सिँचाइलगायतसँगै डिप बोरिङले थप सहजता ल्याएको उल्लेख गर्दै किसानलाई आवश्यक सहयोगमा महानगर सदैव साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस

चितवन, श्रावण २९ । नारायणी कला मन्दिरले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा रोपाई जात्रा आयोजना गर्दैछ । संस्कृति संरक्षण र सम्बर्द्धनका लागि नारायणी कलामन्दिर नारायणगढले रोपाईं जात्रा मनाउने तयारी गरेको छ । बिहिवार पत्रकार सम्मेलन आयोजना गरेर जात्रा बारे जानकारी गराएको हो । लोप हुन लागेको पर्व संरक्षण गर्न जात्राको निरन्तरता दिइएको कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले बताउनुभयो । कृषि पेसामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली संस्कृतिको एउटा उत्कृष्ट प्रतिविम्व भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । परम्पराको पुस्तान्तरण मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाइ छ ।

चितवनमा वि.सं. २०१५ सालबाट रोपाइँ जात्रा सुरु गरिएको थियो । त्यसपछि बिचमा केहि समय रोकिएपछि २०५१ सालबाट नारायणी कला मन्दिरले गर्दै आएको छ । राधा कृष्णको झाँकी सहित शोभायात्रा भजनकीर्तन गर्दै बजार परिक्रमा गरिने कार्यक्रम संयोजक सुस्मिता श्रेष्ठले बताउनुभयो । कला मन्दिरका उपाध्यक्ष अनुकुल श्रेष्ठले कला सस्कृतिको संरक्षण गर्न आयोजना गरिएको बताउनुभयो । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा रोपाई जात्रा आयोजना गर्दैछ । संस्कृति संरक्षण र सम्बर्द्धनका लागि श्रावण कला मन्दिरले रोपाईं जात्रा मनाउने तयारी गरेको छ ।

Subcategories