News

पुष १२, चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को समापनको अवसर पारेर आयोजना गरिएको राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ आज(शुक्रबार)बाट भरतपुरको मेघौलीमा सुरु भएको छ । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमका बिच महोत्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रमा बोल्नुहुँदै मुख्यमन्त्री लामाले रैथाने खानाले मात्रै पर्यटन प्रवर्द्धन गर्न सक्ने बताउनुभयो । रैथाने खानाको स्वादको अहिले महत्त्व बढ्दै छ । रैथानेको संरक्षणले मात्रै विकास बढ्ने छ उहाँले भन्नुभयो । थारू, बोटे लगायतका जनजातिहरूको भाषा संस्कृतिसँगै मेघौलीको रैथाने खानाको संरक्षणमा गर्न उहाँले जोड दिनुभयो ।

उहाँले रैथाने खानासँगै रैथाने अन्नको बिउँ जोगाउन पनि सबैमा आग्रह गर्नुभयो । उहाँले हात्ती पोलो मेघौलीको पहिचान भएकाले यसको निरन्तरता गर्न आग्रह गर्नुभयो । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले मेघौली थारू, दरै बोटे जस्ता आदीवासीहरूको थलो भएको बताउनुहुँदै यहाँको रैथाने खानाको विकास र प्रचारप्रसार गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेश सभाका सांसद ईश्वर सापकोटाले सबै मिलेर भरतपुरको पर्यटन प्रवर्द्धनमा लाग्नु पर्ने बताउनुभयो । महोत्सवमा विभिन्न जात जातिका रैथाने खानाहरू राखिएका छन् ।

रैथाने खानामार्फत् चितवनको पर्यापर्यटन विकास गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको हो । महोत्सव मुल समारोह समितिका संयोजक मायाराम महत्तोले आदीवासी तथा जनजातिहरू थारू, कुमाल, दराई, माझी मुसहर, बोटे, मगर गुरुङ लगायतका रैथाने खानाहरू राखिएको जानकारी दिनुभयो । महोत्सव पुस १६ गते सकिने छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । भरतपुर महानगर पालिकाका प्रमुख रेनु दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

पुष १२, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध हात्ती हो ।

३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो। हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिएको संयोजक तिवारीले बताउनुभयो । उहांले नङ फुटे, नफुटेको, लगायतका बारेमा पनि मूल्यांकन भएको बताउनुभयो ।

 

मकवानपुर, पुस ११ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८ को सिमानास्थित प्लटिङमा निकुञ्जबाट खटिएको सेनाको टोलीले गैँडाको खागसहित तस्करलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । खाग तस्कर भाग्न खोजेपछि पाँच राउण्ड हवार्ई फायर गरिएको उहाँले बताउनुभयो । विशेष सुराकीका आधारमा चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतको नेतृत्वमा हेटौँडा आएको टोलीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले उल्लेख गर्नुभयो ।
घटनाबारे पूर्ण जानकारी निकुञ्जमार्फत सार्वजनिक गरिने भन्दै उहाँले तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक खड्काका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न दुई वटा सवारीसाधनमा हेटौँडा आएका आठ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको थियो । रासस

 

Subcategories