News

चितवन, पुष २ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको तेस्रो दिन दिगो खाद्य प्राणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस गरिएको छ । बहसमा वक्ताहरुले कृषिमा आधुनिकिकरण गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि कृषि नीतिलाई पनि आधुनिक कृषिमैत्री बनाउनु पर्नेमा जोड दिएका छन् । कृषिको जग्गामा कर कम गर्ने, जग्गा बाँझो राख्न नदिने, जथाभावी जग्गा खण्डिकरण गर्न नदिने लगायतका नीति ल्याउन आवश्यक रहेको कुरा बहसका क्रममा औंल्याइएको छ । कृषि रुपान्तरणका लागि विश्वविद्यालयको तहबाट भएका अनुसन्धानलाई प्रसारसँग जोडेर किसान समक्ष पुर्याउनु पर्ने आवश्यकता औंल्याइएको छ ।  देशभर संघ र प्रदेशको ६५ अर्ब र स्थानीयको ३५ अर्ब गरी कुल १ खरब बजेट यो आर्थिक वर्षमा विनियोजन गरिएको कुरा गर्दै वक्ताहरुले यसलाई अझै बढाउनुपर्नेमा जोड दिएका छन् ।विश्वविद्यालय, नार्क, र कृषि विभागले सहकार्य गरेर कृषि रुपान्तरणमा लाग्नु पर्ने निष्कर्ष बहसका क्रममा निस्केको छ । अर्गानिक खेतीलाई बढाउँदै लगेर रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्नेमा पनि वक्ताहरुले जोड दिएका छन् । जग्गालाई चक्लाबन्दी गरेर व्यावसायिक खेती गर्नुपर्ने र त्यसो गर्न सके कम लागतमा धेरै उत्पादन गर्न सकिने वक्ताहरुको भनाइ छ । नेपाली उत्पादन विदेशी उत्पादनभन्दा महँगो हुनुमा लागत दर घटाउने उपायहरु नअपनाउनु मुख्य कारण रहेको उनीहरुको जोड थियो । निर्वाहमुखी खेती गर्ने किसानको संख्या कम गर्दै व्यावसायिक कृषकहरुको संख्या बढाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता रहेको निष्कर्ष बहसले निकालेको छ । अनुदान वितरण थप प्रभावकारीरुपमा गर्नुपर्ने र वितरण प्रणालीलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको कुरा पनि बहसका क्रममा निस्केको छ । बहसमा विश्वविद्यालयका कृषि संकाय डिन प्राडा अर्जुन कुमार श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश सचिव विनोद भट्टराई, अर्गानिक कृषि गरिरहेका कृषक तथा माडी कृषक पाठशालाका सञ्चालक डा। भानेश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो भने विश्वविद्यालयका किट विज्ञान विभाग प्रमुख प्रा।डा। सुन्दर तिवारीले बहसको संचालन गर्नुभएको थियो । बहसमा किसान तथा विद्यार्थीहरुले पनि आफ्ना जिज्ञासा राखेका थिए ।

पुष १, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको दोस्रो दिन आज नवप्रवर्तन, कृषि तथा वनको दिगो विकासमा राष्ट्रिय नीति सम्बन्धी बहस गरिएको छ । बहसमा वक्ताहरुले नीति नियम निर्माणको चरणका अवस्थामा पर्याप्त छलफल र बहस आवश्यक रहेको बताएका छन् । असल किसानको पहिचान गर्न सकेमात्रै सरकारको कार्यक्रम सफल हुुन सक्ने र त्यसका लागि अनुदान कार्यक्रम संचालन कार्यविधि अनुसार अनुदान दिनुपर्नेमा छलफल केन्द्रित रहेको थियो । तथ्याङ्कका अनुसार नेपालमा ४१ लाख कृषक सूचीकृत भएता पनि प्राथमिक पेसा कृषि हो की हो होइन भन्ने कुरा सोचनीय अवस्था रहेको कुरा छलफलमा वक्ताहरुले निकालेका छन् । छलफलमा कृषिलाई उद्यमसँग जोड्न नसके कृषिको रुपान्तरण गर्न निकै कठिन रहेको वक्ताहरुको भनाइ छ । बहसमा कृषि विकास रणनीति र सरकारले लागु गरेको प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले नेपालको कृषिलाई कता लैजाने भन्ने दिशा निर्देश गर्नुपर्ने वक्ताहरुको जोड थियो । कतिखेर हामीले इनपुटमा आधारित, कतिखेर व्यवसायिक कृषि, कतिखेर स्थानीय एवम् रैथाने बाली र बाली प्राङ्गारिक कृषिका कुरा गरिरहँदा नेपालको कृषि क्षेत्रले सही दिशा लिन नसकेकाले कृषि नीतिको तर्जुमा गर्दा हाम्रो आवश्यकता र प्राथमिकतालाई ध्यान दिनु पर्ने कुरा बहसमा उठेको छ । नेपालमा अनुसन्धानबाट आएको उपलब्धिलाई सरकारले अनुसरण गर्न सकेको छैन भने कृषि शिक्षा अनुसन्धान र प्रसारको सम्बन्ध सैद्दान्तिक रुपामा मात्रै सिमित भएकोले व्यवहारत यो लागु हुन सकेको छैन । बदलिदो संघीय संरचना अनुसार विश्वविद्यालयको उपस्थिति प्रदेश र स्थानीय तहका कार्यालयहरुसँग हुनुपर्नेमा समेत वक्ताहरुले जोड दिएका थिए । विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद् स्थानीय तहसम्म जोडिन सके मात्र विश्वविद्यालय र अनुसन्धान परिषद्मा गरिएका अनुसन्धानहरु स्थानीय तहसम्म पुग्ने साथै स्थानीय आवश्यकता र समस्यामा आधारित अनुसन्धानमा अनुसन्धानका निकाय र विश्वविद्यालय जोडिन सक्ने वक्ताहरुले बताएका छन् । नेपालमा नीतिहरुको निर्माण अनुसन्धानमा आधारित नभएर पुराना कानुनका आधारमा निर्माण गरिने भएकोले नीति निर्माणमा पर्याप्त छलफल बहस पैरवी मार्फत सम्बन्धित सरकारवालाहरुको सुझाव संकलन गरेर मात्रै निर्माण गर्नुपर्ने छलफलको निष्कर्ष रहेको कार्यक्रमका सहजकर्ता, विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका उपनिर्देशक तथा मेलाको मूल समारोह समिति सचिवालय सदस्य सह–प्राध्यापक रामहरि तिमिल्सिनाले जानकारी दिनुभयो । बहसमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्र, विश्वविद्यालयकी उपकुलपति प्रा।डा। शारदा थपलिया, नेपाल किसान आयोगका सदस्य टेकबहादुर बोगटी, विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक एवं मेला मूल आयोजक समिति सचिवालय संयोजक प्रा।डा। ऋषिराम कट्टेल, नेपाल थोपा सिँचाइ प्रालिका अध्यक्ष खोजराज कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

पुष १,रत्ननगर । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तया पर्यटन महोत्सव हुँदैछ । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वन सौराहा चितवनको चौरमा हुने आयोजकले जनाएको छ । आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । सौराहा सहित समग्र चितवनको पर्यटन विकासको लागि हरेक बर्ष सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुनेछ ।

५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न राष्ट्रपति पौडेलबाट चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सवका संयोजक रामकुमार आर्यालले जानकारी दिए । आवश्यक प्रक्रिया पुरा गरी हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन समारोहका बीच जिल्लालाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने उनले बताए । विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुन्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवनको सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको क्षेत्रलाई रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।

सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको भन्दै संघका महासचिव गुणराज थपलियाले महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताए । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेकोछ । चितवन राष्ट्रिय निकुन्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनाउन समेत यस महोत्सवको अभिप्राय रहेको छ ।

हात्ती महोत्सव अन्तर्गत जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा तथा स्तम्भ अनावरण, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग बिटुबी गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्धन समाबेश गरिएको संघका सचिव महेश खनालले जानकारी दिए । महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने उनले जानकारी दिए । हात्ती तथा पर्यटन महोत्सवको अवसरमा व्यवसायीहरुले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरेका छन् । रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी लगायतले मन्तव्य राखेका थिए ।

Subcategories