News

३० मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू बाबुछोरा हुन् ।

मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो ।

 

मंसीर २०, सौराहा । कोमल चन्द्र भगत ।  चितवनको सौराहामा बिहीबार मानव–वन्यजन्तु द्वन्द्व र जुनोटिक रोग सम्वन्धी कार्यशाला गरिएको छ । युएसएआइडीको सहयोगमा स्वास्थ्य लाइभले कार्यक्रमको आयोजना गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहांले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले दुई दशकअघि विश्वमा एक स्वास्थ्य अवधारणा आएपछि सरकारले ‘एक स्वास्थ्य नीति २०७६’ ल्याएको जानकारी गराउनुभयो। विभिन्न खालका महामारीको नियन्त्रणका लागि एक स्वास्थ्य अवधारणा आएको उहांको भनाइ थियो । गैरेले पशु स्वास्थ्य र मानव स्वास्थ्यबारेको संयु्क्त अवधारणा नै एक स्वास्थ्य अवधारणा भएको बताउनु भयो। कार्यशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले नेपालका जुनोटिक रोगहरुको बारेमा विस्तृत जानकारी गराएका थिए । यसैगरी जनस्वास्थ्य कार्यालय चितवनका रोग नियन्त्रण अधिकृत गुरुप्रसाद कँडेल, डा. सन्तोष दुलाल, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेरिनरी अधिकृत डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय भरतपुरकी डाक्टर सबिना मिश्र, स्वास्थ्य लाइभका अध्यक्ष अर्जुन अधिकारीलगायतले एक स्वास्थ्यबारे सहजीकरण गरेका थिए । कार्यक्रममा चितवनका २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । मानव–वन्यजन्तु द्वन्द्वबारे अन्तरक्रिया र जुनोटिक रोग एवं एक स्वास्थ्य अवधारणा’ विषयक कार्यशालाको उद्घाटन सत्रको प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना रहनु भएको थियो ।

 रत्ननगर, मंसिर २० । ३७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै चितवनको कालिका नगरपालिकाले २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । महिला सञ्जाल भवनमा आयोजना गरिएको कार्यक्रममा सबै वडाबाट आएका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कार्यपालिका सदस्य ज्वती सुनारले सम्मान गरेका हुन् । सोही अवसरमा बागमती सरकार अन्र्तगत जन स्वास्थ्य कार्यालय चितवनले प्रत्यक महिला स्वयंसेविकालाई नगद रु पाँच हजार प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । स्वयंसेविकाको कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको उनको भनाई छ । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा नगरको उपस्थिति देखाएको भन्दै प्रसंसा गरे । ‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो। नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । तपाईंहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ। तपाईंहरुको यो योगदान अतुलनीय छ’, नगर प्रमुखको भनाइ छ । समाजका समुदाय–समुदायभित्र स्वास्थ्यको पहुँच पर्याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको उनले बताए । बिगतका तुलनामा अहिले स्वास्थ्य स्वयंसेविकाहरु आफ्नो कार्यमा तल्लिन भएर खुसि भएको बताए । नगरभित्रका सम्पूर्ण स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क रुपमा स्वास्थ्य विमा नगरले गरिदिने नगर प्रमुख रेग्मीले प्रतिवद्धता जनाए । प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले समुदायको स्वास्थ्य प्रवर्धनको क्षेत्रमा महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयमसेविकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको बताए । गाउँ घरमा हुने स्वास्थ्यसंग सम्बन्धित गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई सबैले कदर गर्नुपर्ने जोड दिए । कार्यक्रममा जन स्वास्थ्य कार्यालय चितवनकी नर्शिङ्ग अफिसर अनामिका कंडेल, कालिका नगरपालिकाकी स्वास्थ्य स्वयंमसेविका कविता खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन कालिका नगरपालिकाकी परिवार नियोजन सुपरभाईजर अधिकृत सीता दाहालले गरेकी थिईन् ।

Subcategories