News

असोज १७, चितवन ।
चितवनका गीतकार विज्ञानलाल श्रेष्ठको शब्दले सजिएको ‘चाहना’ गीतको म्युजिक भिडियो घटस्थापनाको अवसर पारेर १७ गते शुक्रबार साँझ गीतकार स्वयंको युटुब  Bigyan Lal Shrestha बाट रिलिज भएको छ । मायाप्रीतिको गाथाले भरिएका शब्दहरूलाई अष्ट्रेलियामा रहेका सङ्गीतकार शिरिष बिक्रम थापाले सङ्गीत दिएका छन् भने उक्त गीतमा गायिका सदा श्रेष्ठको स्वर रहेको छ । अष्ट्रेलियामा रेकर्ड गरिएको सो गीतमा सङ्गीतकार शिरिष बिक्रम थापाको आफ्नै सङ्गीत संयोजन रहेको छ भने सङ्गीतकार थापाले रेकर्डसमेत आफ्नो स्टुडियोमा गरेका हुन् । नृत्य निर्देशक सुमित लामाको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोको सम्पूर्ण छायाङ्कन चितवन र नवलपुरका विभिन्न रमणीय स्थानहरूमा भएको हो । म्यूजिक भिडियोमा पहिलो पटक कलाकारद्वय समिता बराली र श्रवण श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको निर्माण सुवानलाल श्रेष्ठले गरेका हुन् ।

१३ असोज, चितवन।

धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका ४ वटा बसबाट आज थप १६ वटा शव भेटिएका छन्। यसअघि हिजो शनिबार १४ जनाको शव निकालिएको थियो। यो सहति झ्याप्ले खोला पहिरोमा परेर हालसम्म ३० जनाको ज्यान गएको छ । थप शवहरु खोज्नेक्रम जारी रहेको प्रहरीले जनाएको छ । गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् । अहिलेसम्म पुरिएका गाडीहरूबाट ३० जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो । झ्याप्ले खोलामा भेटिएको सबै शव त्रिवि शिक्षण अस्पताल लगिने प्रहरीले जनाएको छ।

 

 

असोज १३, दाङ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजु बहिनीको निधन भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका दाजु बहिनीपहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुँदै थिए । कार्यक्रममा सहभागी हुन शुक्रबार काठमाडौं जान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो को टिकट काटेर हिंडेका उनीहरुको यो गाडी काठमाडौं पुगेन । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिन पुग्यो । गाडी पुरिँदा जुम्ल्याहा दाजु बहिनी दिपेश–दीपिका आमा सीता भट्टराईसँगै अस्ताए । उनीहरू लगायत गाडी चालक सहित १४ जनाले सोही पहिरोमा ज्यान गुमाए ।

 गुल्मीका ६ जनाको मृत्यु
झ्याप्लेखोलमा माईक्रोबस पहिरोले पुरिदा मृत्यु भएका १४ जना मध्ये ६ जना गुल्मीका परेका छन् । मदाने गाउँपालिकाका ६ पुर्कोटदहका ३ जना र गुल्मीदरबार गाउँपालिका( ७ लामडाँडाका एकै परिबारका ३ जना सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी शंंकर पोखरेलका अनुसार पुर्कोटदका ३४ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती अनु कुँवर र बहिनी सिर्जना कुँवरको मृत्यु भएको छ । कोरियाको रोजगारबाट फर्किएका उनको एक महिना अघि मात्र विवाह भएको थियो । गुल्मीदरबार ७ लामडाँडाका पनि एकै परिबारका तिन जनाको मृत्यु भएको वडाका वडाध्यक्ष शालिकराम टण्डनले जानकारी दिए । उनका अनुसार त्यस गाउँका ६३ वर्षीय जुद्धबहादर रायमाझी, उनकी बुहारी ३१ वर्षीय प्रमिता भुसाल रायमाझी र उनका ३ वर्षीय छोरा पिसव रायामाझीको मृत्यु भएको छ ।

Subcategories