News

चितवन जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा बृहत सरसफाई तथा वृक्षरोपण गरिएको छ । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सडकको डिभाइडरमा वृक्षरोपण गरेर उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली र सुन्दर सहर निर्माण गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताउनुभयो । ‘हरियाली महागनर’ बनाउने अभियानमा भरतपुर महानगर विगतदेखि अगाडि बढेको प्रमुख दाहाललको भनाई थियो ।
भरतपुरका मुख्य सडकलाई हरियाली नमुना सडक निर्माण गर्नेतर्फ महानगर निरन्तर रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।
विगतमा महानगरले वातावरणको क्षेत्रमा ठुलो बजेट विनियोजन गरिसकेको र आगामी आर्थिक वर्षमा पनि हरियाली विषेश बजेट विनियोजन हुने प्रमुख दाहालले प्रष्ट पार्नुभयो । ‘भरतपुर प्रकृतिको धनी सहर हो, उहाँले भन्नुभयो,‘दुई वटा ठुला नदी र चारैतिर हरियाली जंगल छ । अब यसलाई व्यवस्थित र आर्कषक बनाउनेतर्फ सबै जुट्न जरुरी छ । नेपालमै हरियाली सहरको परिचय स्थापित गर्ने गरी भरतपुरले काम गर्दैछ।’ कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सरसफाई कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । दिवसको अवसरमा बुधबार विहान बासपार्कचोकदेखि आँपटारीसम्म दुई समूहमा सरसफाई गरिएको हो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

जेठ १८, काठमाडौं । सविना लामिछाने ।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक भएको छ । शिव परियारको स्वर र टेकेन्द्र नेपालीको संगीत र साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा ध्रुव न्यौपाने, विपना बुढाथोकी, रोनीश खड्का, कुमार भारतीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । गीतमा अहंकार त्यागौं सँगै बाँचांै भन्ने सन्देश व्यक्त गरिएको छ । डा. उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

चितवन, जेठ १७ । तस्विर: अंकित भगत ।

चितवन एक्स्पो सेन्टर भरतपुरमा भोलि शुक्रबार देखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु हुँदै छ । नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुका नवीनतम प्रविधिहरुको प्रदर्शनी गरिने आयोजकले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

 

प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी एवम् समग्र किसानवर्गको प्रत्यक्ष संलग्नता रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए । प्रदर्शनीसँगै पोल्ट्री व्यवसायका नवीनतम प्रयोग सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनार समेत हुने उनले जानकारी दिए । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धीत कम्पनीहरुको स्टल रहनेछ ।

‘नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायीक परिचय दिई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशहरुमा भइरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्राउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागिएको विष्टले बताए । प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

Subcategories